काठमाडौँ। नेपालका ज्येष्ठ नागरिकमध्ये ठूलो हिस्सा अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको ‘तथ्यांकमा ज्येष्ठ नागरिक २०८३’ ले यस्तो अवस्था देखाएको हो।
हाल नेपालमा ३३ लाख ५५ हजार ८०८ जना ज्येष्ठ नागरिक रहेका छन्। उनीहरूमध्ये ६८.८ प्रतिशत स्व-व्यवसाय वा श्रममा संलग्न छन् भने १३.४ प्रतिशत रोजगारीमा रहेका छन्। त्यस्तै, ०.८ प्रतिशत रोजगारदाताका रूपमा सक्रिय छन् भने १७ प्रतिशत परिवारको सहयोगी सदस्यका रूपमा काम गरिरहेका छन्।
आर्थिक गतिविधिमा संलग्न स्व-व्यवसायी तथा श्रमिक ज्येष्ठ नागरिकमध्ये सबैभन्दा धेरैको सहभागिता कृषि क्षेत्रमा रहेको तथ्यांकले देखाएको छ। मन्त्रालयका अनुसार यस समूहका ७२.६ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा कार्यरत छन्।
त्यसैगरी, गैरकृषि क्षेत्रमा सक्रिय ज्येष्ठ नागरिकको हिस्सा २७ प्रतिशत रहेको तथ्यांकमा उल्लेख गरिएको छ।
मन्त्रालयले सार्वजनिक गरेको उक्त प्रकाशनमा देशभरका ज्येष्ठ नागरिकको जनसंख्या, उनीहरूको आर्थिक संलग्नता तथा समग्र अवस्थासम्बन्धी विभिन्न विवरण समेटिएको छ।








