काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथ मन्दिरमा आउने ठूलो सङ्ख्याका श्रद्धालुको सहज, सुरक्षित र मर्यादित दर्शन सुनिश्चित गर्न पशुपति क्षेत्र विकास कोषले व्यवस्थापनको तयारी अन्तिम चरणमा पुर्याएको छ।
दर्शनार्थीको चापलाई व्यवस्थित गर्न कोषका पदाधिकारी तथा कर्मचारीसहित मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक संघ-संस्थाको सहकार्यमा सेवा व्यवस्थापन गरिने भएको छ।
कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार साउन महिनाका सोमबार पशुपतिनाथमा आउने श्रद्धालुलाई सहज वातावरणमा दर्शन तथा पूजा गर्ने व्यवस्था मिलाइएको छ। उहाँले सबै तयारी निर्धारित समयभित्र सम्पन्न हुने जानकारी दिए।
साउनको सोमबार बिहान ३ बजेदेखि मन्दिरका चारवटै ढोका दर्शनार्थीका लागि खुला गरिनेछ। बेलुका आरती सम्पन्न भएपछि पनि राति ८ बजेसम्म दर्शनको व्यवस्था रहनेछ। विशेष पूजा भने बिहान ८ः३० बजेदेखि दिउँसो १२ बजेसम्म मात्र सञ्चालन हुने कोषले जनाएको छ।
दर्शन व्यवस्थापनका लागि विभिन्न प्रवेश मार्ग
दर्शनार्थीको भीड व्यवस्थापन गर्न विभिन्न क्षेत्रबाट आउने भक्तजनका लागि छुट्टाछुट्टै मार्ग निर्धारण गरिएको छ।
सामान्य दर्शनका लागि गुह्येश्वरी, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति हुँदै प्रवेश गर्ने मार्गबाट भक्तजनलाई व्यवस्थापन गरिनेछ। यस मार्गबाट आउने दर्शनार्थीले जुत्ता-चप्पल व्यवस्थापन गरी निर्धारित बाटो हुँदै उत्तर ढोकाबाट दर्शन गर्ने र पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ।
बोलबम यात्रुका लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ। गुह्येश्वरी तथा जयवागेश्वरी क्षेत्र हुँदै आउने भक्तजनलाई बजार क्षेत्रबाट कैलाशतर्फ प्रवेश गराई उत्तर ढोकाबाट जल अर्पण गर्ने व्यवस्था मिलाइएको छ।
जयवागेश्वरी, बालकुमारी र भुवनेश्वरी क्षेत्रबाट आउने दर्शनार्थीका लागि अर्को मार्ग तय गरिएको छ। उनीहरूले नासल चोक क्षेत्रमा जुत्ता–चप्पल राखी निर्धारित प्रवेशद्वारबाट मन्दिर प्रवेश गर्ने र पूजा सकेपछि तोकिएको बाटोबाट बाहिरिने व्यवस्था गरिएको छ।
विशेष पूजा तथा विशेष सहज दर्शनका लागि कोष कार्यालय र गौशाला क्षेत्रबाट आउने सेवाग्राहीका लागि छुट्टै मार्ग सञ्चालन गरिनेछ। यसअन्तर्गत भुवनेश्वरी चोक हुँदै प्रवेश गरी पासका आधारमा विशेष पूजा गर्ने व्यवस्था रहनेछ।
पिङ्गलास्थान, सुमार्गी भवन, राजराजेश्वरी तथा पञ्चदेवल क्षेत्रबाट आउने भक्तजनका लागि पनि छुट्टै मार्ग निर्धारण गरिएको छ। उनीहरूलाई बज्रघर क्षेत्रबाट प्रवेश गराई दक्षिणतर्फको मार्ग हुँदै दर्शनको व्यवस्था गरिनेछ।
विशेष सहज दर्शन सेवाका लागि तिलगङ्गा पर्यटक ढोकाबाट टिकट लिएका दर्शनार्थीलाई छुट्टै व्यवस्था गरिएको छ। उनीहरूलाई निर्धारित मार्ग हुँदै पूर्व ढोकाबाट दर्शन गराई प्रसादीसहित सोही मार्गबाट फर्कने व्यवस्था मिलाइएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए।
वृद्ध, अशक्त र बालबालिकाका लागि विशेष व्यवस्था
वृद्ध, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि सहज दर्शनको छुट्टै व्यवस्था गरिएको छ। उनीहरूलाई भुवनेश्वरी चोक क्षेत्रबाट प्रवेश गराई विशेष मार्गमार्फत दर्शन गराउने योजना रहेको कोषले जनाएको छ।
विशेष सहज दर्शन सेवा बिहान ३ बजेदेखि मन्दिर खुलेसँगै सुरु हुनेछ र बेलुका आरतीसम्म निरन्तर सञ्चालन हुनेछ।
विशेष पूजाका लागि शुल्क र समय निर्धारण
कोषले विभिन्न प्रकारका विशेष पूजाका लागि शुल्क र समय निर्धारण गरेको छ।
पञ्चामृत पूजाका लागि तीन हजार १०० रुपैयाँ शुल्क तोकिएको छ। फलफूल तथा मिठाइसहितको पञ्चामृत पूजाका लागि सात हजार ५०० रुपैयाँ लाग्नेछ। दुवै पूजा बिहान ८ः३० बजेदेखि दिउँसो १२ बजेसम्म मात्र गर्न सकिने व्यवस्था गरिएको छ।
विशेष सहज दर्शन पूजा तथा प्रसादीका लागि एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। यसको सेवा भने बिहान मन्दिर खुलेदेखि बेलुका आरतीसम्म उपलब्ध हुनेछ।
विशेष पूजाको रसिद मूल ढोकाअगाडि रहेको एसबिआई बैंकबाट लिन सकिनेछ। विशेष सहज दर्शनको रसिद भुवनेश्वरी चोकस्थित काउन्टर तथा तिलगङ्गा पर्यटक काउन्टरबाट उपलब्ध गराइनेछ।
सुरक्षा, स्वास्थ्य र सेवा व्यवस्थापन
साउने सोमबारको व्यवस्थापनका लागि हंशमण्डप क्षेत्रमा स्वयंसेवक, कर्मचारी, सुरक्षाकर्मी तथा प्रहरीका लागि खानपानको व्यवस्था गरिएको छ।
दर्शनार्थीका सवारी साधन व्यवस्थापन गर्न तिलगङ्गा आँखा अस्पताल अगाडि, पिङ्गलास्थान, भण्डारखाल, परिषद् क्षेत्र, सिफल चौर, उमाकुण्ड, गुह्येश्वरीलगायत विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।
चन्दन प्रसादी वितरणका लागि पशुपति मूल ढोका अगाडि, भकुन्डोल दक्षिण ढोका पाटी तथा दक्षिणामूर्ति क्षेत्रमा व्यवस्था मिलाइएको छ।
दर्शनार्थीको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै मोबाइल शौचालय, एम्बुलेन्स तथा प्राथमिक उपचार सेवासमेत उपलब्ध गराइने सदस्य सचिव श्रेष्ठले जानकारी दिए।
कोषले साउने सोमबारमा आउने श्रद्धालुको धार्मिक आस्था, सुरक्षाको आवश्यकता र व्यवस्थापकीय सहजतालाई ध्यानमा राख्दै समन्वयात्मक रूपमा सेवा सञ्चालन गर्ने जनाएको छ।







