काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बैतडीले प्रहरी चौकी खोड्पेका प्रमुख प्रहरी नायब निरीक्षक (सई) कृष्णराज भट्टलाई २०८३ साल असार महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन नगरपालिका-९ गैराखान सडक खण्डमा भएको यात्रुवाहक बस दुर्घटनापछि तत्काल उद्धार तथा समन्वयमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै भट्टलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो।
गत असार १९ गते दिउँसो करिब ३:३० बजे धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३९६३ नम्बरको बस दुर्घटना भएको सूचना प्राप्त भएपछि प्रहरी चौकी खोड्पेबाट तत्काल टोली परिचालन गरिएको थियो।
प्रहरी नायब निरीक्षक भट्टको नेतृत्वमा खटिएको टोलीले दुर्घटना स्थलमा पुगेर घाइतेको उद्धार, सम्बन्धित निकायसँग समन्वय तथा उपचारका लागि अस्पताल पुर्याउने कार्य गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। समयमै गरिएको उद्धार र व्यवस्थापनका कारण थप मानवीय तथा भौतिक क्षति रोक्न सहयोग पुगेको प्रहरीको भनाइ छ।
कर्तव्यप्रति जिम्मेवार, लगनशील र नागरिक सेवामा समर्पित भूमिका निर्वाह गरेको भन्दै भट्टलाई “महिनाको उत्कृष्ट प्रहरी” सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले उत्कृष्ट प्रहरी छनोटसम्बन्धी प्रमाणपत्र प्रदान गरेका हुन्।







