काठमाडौँ । नेकपा नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल र रुसबीच सात दशकदेखि कायम कूटनीतिक सम्बन्धले द्विपक्षीय सहकार्यको बलियो आधार निर्माण गरेको उल्लेख गर्दै आगामी दिनमा व्यापार, लगानी, ऊर्जा र प्रविधिलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने बताएका छन्।
नेपाल-रुस कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा नेपालस्थित रुसी दूतावासले काठमाडौँस्थित रसियन कल्चर सेन्टरमा आयोजना गरेको फोटो प्रदर्शनी उद्घाटन कार्यक्रममा उनले दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको धारणा राखे।
पुनले विगत सात दशकमा शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायत विभिन्न क्षेत्रमा भएको सहकार्यले नेपाल-रुस सम्बन्धलाई थप मजबुत बनाएको बताए।
उनले नेपालको विकासको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण तथा औद्योगिक विकासमा रुसले पुर्याएको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे। साथै, रुसबाट उच्च शिक्षा हासिल गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा अन्य व्यावसायिक क्षेत्रमा काम गर्दै नेपालको विकासमा उल्लेखनीय योगदान दिएको उनको भनाइ थियो।
पूर्वअर्थमन्त्री पुनले नेपाल र रुसबीच निर्माण भएको विश्वास र सहकार्यको आधारलाई उपयोग गर्दै व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, शिक्षा, विज्ञान, प्रविधि, नवप्रवर्तन, कृषि र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा साझेदारी अझ विस्तार गर्न सकिने धारणा व्यक्त गरे।
उनले नेपाल-रुस कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विगतका उपलब्धिको स्मरण गर्ने अवसर मात्र नभई भविष्यमा थप प्रभावकारी सहकार्यका लागि नयाँ सम्भावना पहिचान गर्ने महत्वपूर्ण अवसरसमेत भएको बताए।







