काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृतक सुरेशचन्द श्रेष्ठ रहेका छन्। उनी आगलागीमा परेको बा ५ च ३०३८ नम्बरको कारका धनीसमेत रहेको प्रहरीले जनाएको छ।
मंगलबार बिहान उक्त कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीले मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले आगलागीको वास्तविक कारणबारे अनुसन्धान अघि बढाएको छ।







