काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पुजा शाही, काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बस्ने सप्तरी बोदेबरसाईन नगरपालिका-३ घर भएका २० वर्षीय दिपक साह, काठमाडौँ महानगरपालिका-९ बस्ने सर्लाही बसबरीया गाउँपालिका-३ घर भएका ४१ वर्षीय जय मंगल प्रसाद निसाद र काठमाडौँ महानगरपालिका-३२ बस्ने रामेछाप मन्थली नगरपालिका-३ घर भएकी ३७ वर्षीया मिना श्रेष्ठ खत्री रहेका छन् ।
पक्राउ मध्ये पुजाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रुपैयाँ, दिपकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ, जय मंगलले ब्रनाई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ३८ हजार रुपैयाँ र मिनाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।
सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।







