काठमाडौँ । नेपाली काँग्रेसले पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कको एक अंशबाट ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ।
बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा पार्टीका सभापति गगन थापाले कोष सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन्।
थापाका अनुसार कोषमा प्रारम्भिक रूपमा १० लाख रुपैयाँ जम्मा गरिएको छ। उक्त रकम विस्थापित सुकुम्वासी परिवारलाई सहयोग गर्न प्रयोग गरिनेछ। विशेष गरी एकल महिला तथा विद्यालय जान नपाएका बालबालिकालाई प्राथमिकतामा राखेर सहायता उपलब्ध गराइने उनले बताए।
उनले पार्टी सदस्यहरूले बुझाएको सदस्यता शुल्कको केही हिस्सा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत परिचालन गर्ने उद्देश्यले कोष स्थापना गरिएको उल्लेख गरे।
कोषमार्फत गरिने सहयोगको व्यवस्थापनमा नेपाल महिला संघका स्वयंसेवक परिचालन गरिने थापाले जानकारी दिए। उनीहरू प्रभावित बस्तीमा पुगेर आवश्यकताको पहिचान गर्ने तथा सहयोग वितरणको कार्यमा संलग्न हुनेछन्। साथै, तरुण दलसहित इच्छुक अन्य स्वयंसेवकलाई पनि अभियानमा सहभागी हुन उनले आह्वान गरे।
सभापति थापाले ‘ग्रिन रन’ कार्यक्रमलाई जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धिमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियानका रूपमा अघि बढाइएको बताए। जलवायु परिवर्तनलाई नेपालको विकास नीतिको प्रमुख प्राथमिकतामा राख्दै पार्टीले नीति तथा कार्यक्रममार्फत यस विषयलाई अगाडि बढाउने उनले उल्लेख गरे।
उनले बीपी कोइरालाले अघि सारेका समावेशी लोकतन्त्र र प्राकृतिक स्रोतमा न्यायपूर्ण पहुँचसम्बन्धी अवधारणाको स्मरण गर्दै ती विचार आज पनि सान्दर्भिक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा अपेक्षाभन्दा धेरै सहभागिता हुँदा व्यवस्थापनमा केही कमजोरी भएको स्वीकार गर्दै थापाले सहभागी युवाप्रति क्षमायाचना गरेका छन्। आगामी कार्यक्रमहरूलाई थप व्यवस्थित बनाइने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
यसैबीच, उनले बिहीबारदेखि नेपाली काँग्रेसले देशव्यापी नयाँ अभियान सुरु गर्ने जानकारी दिँदै त्यससम्बन्धी विस्तृत विवरण भोलि सार्वजनिक गरिने बताएका छन्।







