काठमाडौँ। अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने र उनीहरूको राहदानी फिर्ता गराइदिने भन्दै रकम असुलेको आरोपमा हास्य कलाकार नारदप्रसाद खतिवडासहित तीन जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार अध्यागमन विभागको कालिकास्थानस्थित हिरासतमा रहेका ९ जना चिनियाँ नागरिक तथा विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानी छुटाइदिने भन्दै उनीहरूले रकम माग गरेका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले विभिन्न व्यक्तिबाट ९ लाख रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्ने उदयपुरको कटारी नगरपालिका-८ सिरिसेका ३८ वर्षीय विक्रमबहादुर थापा, नवलपरासी पश्चिमको सुनवल नगरपालिका-७ तर्गौलीका ५९ वर्षीय गोपालकुमार गुरुङ र काठमाडौँ महानगरपालिका-१० बुद्धनगर बस्ने सर्लाहीको लालबन्दी नगरपालिका-५ का ५२ वर्षीय नारदप्रसाद खतिवडा रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।







