काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा एक कर अधिकृतलाई पक्राउ गरेको छ।
आन्तरिक राजस्व कार्यालय लहान, सिरहामा कार्यरत कर अधिकृत युवराज पाललाई अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो।
प्रारम्भिक जानकारीअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्षको पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा घुस रकम दिएपछि मात्रै अडिट प्रक्रिया अघि बढाउने भन्दै पालले कम्पनीसँग आवश्यक कागजात माग गरेको आरोप छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी एवं उपसचिव प्रकाश पोखरेलले जानकारी दिए।







