काठमाडौँ । आर्थिक वर्ष २०८२-८३ मा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८८ प्रतिशतले बढी हो।
भन्सार विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ बराबरका वस्तु आयात गरेको छ। आयातको आकार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.२० प्रतिशतले वृद्धि भएको हो। आर्थिक वर्ष २०८१-८२ मा आयात १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ रहेको थियो।
यसै अवधिमा नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवाको निर्यात भएको छ। निर्यात अघिल्लो वर्षको तुलनामा १३.८१ प्रतिशतले बढेको देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा विदेश निर्यात गरिएको थियो।
आयातको तुलनामा निर्यात उल्लेख्य रूपमा कम रहेकाले गत आर्थिक वर्षमा मुलुकको व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१-८२ मा यस्तो घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ रहेको थियो।
तथ्यांकले वैदेशिक व्यापारको समग्र आकार बढे पनि आयात र निर्यातबीचको ठूलो अन्तर कायम रहँदा व्यापार घाटा थप विस्तार भएको देखाएको छ।






