काठमाडौँ । प्रविधिको प्रयोगमार्फत प्रहरी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँले एआई (कृत्रिम बुद्धिमत्ता) क्यामेराको सहायताबाट पहिचान गरिएका ५९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
परिसरका अनुसार एआई क्यामेराबाट प्राप्त सूचनाको विश्लेषण गरी शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरिएको र त्यस आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको हो ।
परिसरले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रविधिमैत्री प्रहरी सेवाका विभिन्न पहल र उपलब्धिबारे जानकारी दिँदै एआई प्रणालीको प्रयोगबाट अनुसन्धान तथा सुरक्षा व्यवस्थापनमा सहयोग पुगेको जनाएको छ ।
प्रहरी सेवामा पारदर्शिता कायम गर्ने उद्देश्यले बिचौलियाको प्रभाव घटाउने तथा सेवाप्रवाहलाई सहज र व्यवस्थित बनाउने कामसमेत अघि बढाइएको परिसरले जनाएको छ । प्रहरीले प्रविधिको प्रयोगसँगै सेवा प्रणालीलाई थप उत्तरदायी र प्रभावकारी बनाउने प्रयास जारी रहेको उल्लेख गरेको छ ।






