काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले भारतीय सर्वोच्च अदालतको औपचारिक (सेरेमोनियल) इजलासमा सहभागिता जनाएका छन्।
शुक्रबार बिहान भारतीय प्रधान न्यायाधीश सूर्य कान्तको उपस्थितिमा बसेको उक्त इजलासमा नेपालका प्रधान न्यायाधीश शर्मासहित बेलायत, भुटान, ब्राजिल र केन्याका न्यायाधीशहरू पनि सहभागी भएका थिए। भारतीय सर्वोच्च अदालतको भ्रमणका क्रममा प्रधान न्यायाधीश शर्मा उक्त औपचारिक इजलासमा बसेका हुन्।
भारतीय कानुनी समाचारमाध्यम बार एन्ड बेन्चका अनुसार इजलास प्रारम्भ भएपछि भारतीय प्रधान न्यायाधीश सूर्य कान्तले सहभागी विदेशी न्यायाधीशहरूको परिचय गराएका थिए।
कार्यक्रममा भारतका महान्यायाधिवक्ता आर। वेंकटरमणले भ्रमणमा रहेका न्यायाधीशहरूको स्वागत गर्दै भारतलाई विविध कानुनी परम्परा र न्यायिक मूल्य-मान्यताको संगमस्थलका रूपमा उल्लेख गरेका थिए। त्यसैगरी सोलिसिटर जनरल तुसार मेहताले भ्रमणका लागि छुट्याइएको दुई दिनको समय पर्याप्त नभएको टिप्पणी गरेका थिए।
भारतीय सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता विकास सिंहले पनि भ्रमणमा रहेका विदेशी न्यायाधीशहरूलाई स्वागत गरेको जनाइएको छ।
प्रधान न्यायाधीश शर्मा बिहीबार पत्नी उमा शर्मा तथा स्वकीय सचिव (सहरजिस्ट्रार) अमित उप्रेतीसहित एयर इन्डियामार्फत भारत पुगेका थिए।
भ्रमणका क्रममा उनी शुक्रबार साँझ आयोजना हुने संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय व्यापार कानुनसम्बन्धी आयोग को ६०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। कार्यक्रममा भारतका कानुन तथा न्याय मन्त्री अर्जुन राम मेघवाल, विदेश मन्त्री एस। जयशंकर तथा भारतीय प्रधान न्यायाधीश सूर्य कान्तले सम्बोधन गर्ने तय भएको छ।
कार्यक्रम सम्पन्न भएपछि प्रधान न्यायाधीश शर्मासहितको नेपाली प्रतिनिधिमण्डल साउन ११ गते काठमाडौँ फर्कने कार्यतालिका रहेको छ।






