काठमाडौँ । नेपाल चिकित्सक संघले नेपालको चिकित्सा शिक्षा एवं स्वास्थ्य क्षेत्रको सुधारका लागि २४ औँ पटक आमरण अनशनमा बसेका डा.गोविन्द केसीको जीवन रक्षाका लागि अपिल गरेको छ।
संघले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसी पुनः आमरण अनशनमा बस्नु परेको परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अनशनका क्रममा उनको स्वास्थ्यमा विभिन्न जटिलताहरू उत्पन्न भइरहेको संघले जनाएको छ। उनको उमेर र हालसालै सम्पन्न भएको शल्यक्रियाबाट स्वास्थ्य लाभ गरिरहेको परिस्थितिलाई मध्यनजर गर्दा उनको स्वास्थ्य स्थिति थप जोखिमपूर्ण बनेको विज्ञप्तिमा उल्लेख छ।
संघले डा. केसीले उठाएका जायज मागको अविलम्ब र उपयुक्त समाधान निकाली उनको अमूल्य जीवन रक्षा गर्न सरकार तथा सम्बद्ध निकायलाई गम्भीर बन्न ध्यानाकर्षण गराएको छ।
“उहाँको उमेर, हालसालै सम्पन्न गरिएको शल्यक्रियाबाट स्वास्थ्य लाभमा रहनुभएको स्थितिलाई मध्यनजर गरी उहाँको जीवन रक्षाका लागि उहाँले उठाउनुभएका जायज मागलाई हदैसम्मको संवेदनशीलताका साथ उपयुक्त समाधानका लागि आवश्यक पहल गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार लगायत सम्पूर्ण सरोकारवालालाई हार्दिक आग्रह गर्दछ।” पत्रमा उल्लेख छ ।







