काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न व्यक्तिमाथि कानुन अनुसार कारवाही गरिने बताएका छन्।
मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले घटनासँग सम्बन्धित दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।
उनका अनुसार प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको सूचना प्राप्त भएलगत्तै गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी आवश्यक निगरानी तथा अनुसन्धानलाई तीव्र बनाइएको थियो।
यसअघि पनि यस्ता प्रकृतिका घटना दोहोरिएको उल्लेख गर्दै मन्त्री पोखरेलले यसपटक भने तत्काल अनुसन्धान र कानुनी प्रक्रिया सुरु गरिएको बताए। सुशासन विरोधी गतिविधिमा संलग्न जोसुकैलाई कानुनबमोजिम कारबाही गरिने र अनुसन्धानबाट प्राप्त तथ्य सार्वजनिक गरिने उनको भनाइ थियो।
प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
गत साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त घटनाबारे अनुसन्धान सुरु गरिएको हो।






