काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न अवस्थाबारे जिल्ला प्रशासन कार्यालय सुनसरीको पहलमा आयोजित सर्वपक्षीय बैठकले शान्ति-सुरक्षा, सामाजिक सद्भाव र सामुदायिक एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सोमबार इनरुवामा बसेको बैठकमा सहभागी जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालाले परिस्थितिलाई थप जटिल बन्न नदिन जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साम्प्रदायिक तनावपछि आयोजित छलफलमा घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय समितिलाई आवश्यक सहयोग उपलब्ध गराउने सहमति पनि भएको छ।
बैठकमा घटनाको वास्तविकता उजागर गर्न छानबिन प्रक्रियामा सबै पक्षबाट सहयोग गर्ने तथा स्थानीय तहमा शान्ति, आपसी विश्वास र सामाजिक सद्भाव कायम राख्न साझा प्रयास अघि बढाउने निर्णय गरिएको जनाइएको छ।
सर्वपक्षीय छलफलमा सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा अन्य सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।
यसैबीच, गृह मन्त्रालयले देवानगञ्ज घटनाको सत्यतथ्य पत्ता लगाउन सोमबार पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ।






