काठमाडौँ । आन्तरिक राजस्व विभागले विद्युत् सेवामा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि मात्रै कार्यान्वयन हुने जनाएको छ ।
विद्युत् सेवामा भ्याट लागू हुने विषयमा उपभोक्ता तथा सरोकारवालामा देखिएको अन्योलबारे स्पष्ट पार्दै विभागले आर्थिक ऐन, २०८३ ले गरेको व्यवस्था सोही ऐन प्रारम्भ हुने मितिदेखि लागू हुने जनाएको हो ।
आर्थिक ऐन, २०८३ मार्फत मूल्य अभिवृद्धि कर ऐन, २०५३ मा संशोधन गरी विद्युत् सेवा उपभोग गर्ने अन्तिम उपभोक्ताका लागि ५ प्रतिशत र अन्य सेवाग्राहीका हकमा १३ प्रतिशतका दरले भ्याट लाग्ने व्यवस्था गरिएको थियो ।
विभागका अनुसार असार मसान्तसम्मको विद्युत् खपतको बिल साउन १ गते जारी भएमा कर लाग्ने वा नलाग्ने, साथै नयाँ कर व्यवस्थाअनुसार जारी हुने कर बिजकमा न्यूनतम शुल्क वा डिमान्ड शुल्कमा समेत भ्याट लाग्ने वा नलाग्ने विषयमा भ्रम सिर्जना भएको थियो ।
तर, विद्युत् सेवामा भ्याट लगाउने व्यवस्था साउन १ गतेदेखि मात्र प्रभावकारी हुने भएकाले सो अवधिअघिको खपतमा कर दायित्व सिर्जना नहुने विभागले जनाएको छ ।
विभागले असार ३२ गतेसम्म भएको विद्युत् खपतमा कुनै कारणवश भ्याट समावेश गरिएको भए त्यस्तो कर छुट हुने स्पष्ट पारेको छ । साउन १ गतेपछि हुने विद्युत् खपतमा मात्र प्रचलित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि कर लागू हुने विभागको भनाइ छ ।






