काठमाडौँ । झापाको गौरीगञ्ज गाउँपालिका-१ का वडा सचिव अजयकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ।
आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट १० हजार रुपैयाँ रकम लिइसकेको अवस्थामा साहलाई पक्राउ गरेको जनाएको छ।
आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्र उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग अवैध रकम माग गरेको भन्ने सूचनाका आधारमा निगरानी तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा साहलाई सोही वडाअन्तर्गत रहेको एक स्थानीय होटेलबाट नियन्त्रणमा लिइएको आयोगले जानकारी दिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।






