काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा नागरिकमाथि गोली प्रहार गर्नुपर्ने अवस्था नै नरहेको अवस्थामा सुरक्षा निकायबाट बल प्रयोग गरिएको दाबी गरिएको छ। विज्ञप्तिअनुसार निहत्था नागरिकमाथि घुँडामाथि लक्षित गरी घातक हतियार प्रयोग गरिएको भन्दै उक्त कार्यलाई कानुनी मापदण्डविपरीत र गम्भीर प्रकृतिको राज्यीय ज्यादतीको रूपमा व्याख्या गरिएको छ।
नेकपाले सामाजिक सद्भाव कायम राख्नुपर्ने संवेदनशील परिस्थितिमा राज्य संयमित, जिम्मेवार र सतर्क बन्नुपर्ने भए पनि घटनामा सुरक्षा संयन्त्रबाट त्यसअनुरूपको व्यवहार नदेखिएको आरोप लगाएको छ।
विज्ञप्तिमा घटनाका बेला सुरक्षा निकाय नेतृत्वविहीन अवस्थामा रहेको उल्लेख गर्दै यसलाई सुरक्षा व्यवस्थापनको गम्भीर कमजोरीका रूपमा पनि औँल्याइएको छ। नियम–कानुनको पालना नगरी गोली प्रहार गर्दा एक जनाको मृत्यु हुनुका साथै दर्जनौँ नागरिक गम्भीर घाइते भएको दाबी गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले वहन गर्नुपर्ने पार्टीको भनाइ छ।
नेकपाले घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गराई जिम्मेवार व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको छ। साथै, मृतकका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको नि:शुल्क तथा प्रभावकारी उपचार सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरेको छ।
पार्टीले परिस्थितिलाई थप जटिल बन्न नदिन, शान्ति-सुरक्षाको अवस्था सुदृढ बनाउन, जनविश्वास कायम राख्न तथा संवाद र वार्तामार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्दै सामाजिक सद्भाव जोगाउन सरकारसहित सम्बन्धित सबै पक्षलाई आवश्यक पहल गर्न आग्रह गरेको छ।







