काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाहसँग आर्थिक नीति तथा एजेन्डाका विषयमा प्रभावकारी समन्वय भइरहेको बताएका छन् ।
उद्योगी तथा व्यवसायीसँग अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा अर्थमन्त्री वाग्लेले पछिल्लो समय प्रधानमन्त्रीसँगको सम्बन्ध र समन्वयबारे बाहिर आएका विभिन्न चर्चाहरू तथ्यमा आधारित नरहेको स्पष्ट पारेका हुन् ।
केही समययता प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिसँग गरेका छलफलमा अर्थमन्त्रीको सहभागिता नदेखिएको भन्दै अर्थ मन्त्रालयलाई बेवास्ता गरिएको भन्ने धारणा सार्वजनिक भएपछि वाग्लेले त्यसबारे स्पष्टीकरण दिएका हुन् ।
उनले आर्थिक विषयमा प्रधानमन्त्री तहबाट विगत लामो समययताकै उच्च चासो र सक्रिय समन्वय भइरहेको दाबी गरे । प्रधानमन्त्री स्वयं निजी क्षेत्रसँग नियमित संवादमा रहेको र व्यवसायीका सुझाव तथा समस्याबारे आवश्यक समन्वय गर्दै आएको उनको भनाइ थियो ।
अर्थमन्त्री वाग्लेले उद्यमी-व्यवसायीले उठाएका विषयमा प्रधानमन्त्रीले आफू तथा सम्बन्धित मन्त्रालयसँग प्रत्यक्ष रूपमा छलफल र आवश्यक पहल गर्ने गरेको बताए ।
उनले सरकार निजी क्षेत्रको लगानी संरक्षण, प्रतिफलको सुनिश्चितता र लगानी विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको दोहोर्याए ।
आर्थिक क्षेत्रसँग जोडिएका विषयमा प्रधानमन्त्रीसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले बजारमा फैलिएका हल्ला र भ्रमका आधारमा धारणा नबनाउन निजी क्षेत्रलाई आग्रह गरे ।






