काठमाडौँ । सुनसरीसहित देशका विभिन्न स्थानमा विकसित संवेदनशील घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरूले सामाजिक सद्भाव, राष्ट्रिय एकता र कानुनी शासनको पक्षमा संयुक्त अपिल जारी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकपछि जारी संयुक्त वक्तव्यमा पछिल्ला घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
दलहरूले नेपालको विविधतामा आधारित सामाजिक एकता र सहअस्तित्वलाई कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्। कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सद्भाव खलबल्याउने कार्यबाट टाढा रहन अपिल गर्दै संवाद र आपसी समझदारीमार्फत मात्रै जटिल समस्याको समाधान सम्भव हुने धारणा व्यक्त गरिएको छ।
संयुक्त वक्तव्यमा लोकतान्त्रिक व्यवस्थामा देखिएका असन्तुष्टि तथा विवादलाई शान्तिपूर्ण माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ। आफ्ना माग र असहमतिलाई हिंसारहित तथा लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढाउन सम्बन्धित सबै पक्षलाई आह्वान गरिएको छ।
यसैगरी, प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय संयन्त्र सक्रिय बनाउन तथा स्थानीय स्तरमा संवाद विस्तार गरी नागरिकबीच विश्वासको वातावरण निर्माण गर्न सम्बन्धित दलका संगठनलाई निर्देशन दिइएको छ। धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनबीच समन्वय बढाएर शान्ति कायम राख्न पनि दलहरूले आग्रह गरेका छन्।
वक्तव्यमा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगमा विशेष जोड दिँदै भ्रामक सूचना, अफवाह र घृणाजन्य अभिव्यक्तिले परिस्थितिलाई थप जटिल बनाउन सक्ने उल्लेख गरिएको छ। तथ्यमा आधारित सूचना मात्रै सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ।
सरकारलाई सम्बोधन गर्दै संयुक्त वक्तव्यमा नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।
प्रमुख दलहरूले यस्ता संवेदनशील घटना पुनः दोहोरिन नदिन आवश्यक समन्वय, पहल र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति संरक्षणका लागि सरकार तथा समाजसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन्।
संयुक्त वक्तव्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली काँग्रेसका सभापति गगन थापा, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव ओरेन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत तथा जसपा नेपालका नेता प्रकाश अधिकारीको हस्ताक्षर रहेको छ।








