काठमाडौँ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
बुधवार बसेको समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिस भएका तीन जनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो ।
प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ मंगलवार भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ बुधवार सम्पन्न भएको हो ।
समितिका सभापति वोधनारायण श्रेष्ठले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित नामहरू सर्वसम्मतिले अनुमोदन भएको घोषणा गरे ।
समितिले अनुमोदनका साथै प्रस्तावित पदाधिकारीहरूलाई उनहरूले प्रस्तुत गरेको कार्ययोजना परिमार्जन गरी पुनः पेश गर्न निर्देशन समेत दिएको छ ।
सुनुवाइका क्रममा सांसदहरूले दिएका सुझावहरूलाई समेट्दै कार्ययोजनालाई थप नतिजामुखी बनाउन समितिले आग्रह गरेको छ ।
परिमार्जित कार्ययोजनामा स्पष्ट सूचक, समयसीमा, उपलब्धि र ती लक्ष्य हासिल गर्न सघाउने क्रियाकलापहरू स्पष्ट खुलाई समितिमा पेश गर्नुपर्ने निर्णय गरिएको सभापति श्रेष्ठले जानकारी दिए।






