काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र ठूलो ध्वनि (आवाज) आउने गरी लाउड स्पिकर, माइक, भोपु तथा साउन्ड बक्स प्रयोग नगर्न/नगराउन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ।
कार्यालयले धार्मिक क्रियाकलाप सञ्चालन गर्दा हुने उच्च ध्वनिका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको जनगुनासो आएको उल्लेख गर्दै प्रशासनले सूचनामार्फत यस्तो निर्देशन जारी गरेको हो । विभिन्न धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा उच्च ध्वनिका कारण घरभित्र रहेका बालक, वृद्ध वृद्धाहरू लगायत सर्वसाधारणमा ध्वनि प्रदूषण भई मानसिक दीर्घ रोगको जोखिम बढेको भन्दै जनगुनासो प्राप्त भएपछि यो कदम चालिएको जनाएको छ ।
कार्यालयले मोरङ जिल्लाभित्र रहेका सम्पूर्ण मठ-मन्दिर, मस्जिद, चर्च, गुम्बा लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई आ-आफ्नो कार्यक्रम सञ्चालन गर्दा तोकिएको ध्वनि प्रदूषण मापदण्ड र सर्वोच्च अदालतको आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।







