काठमाडौँ । लघुवित्त पीडितहरूले सामूहिक आमरण अनशन तेस्रो पनि जारी राखेका छन् ।
विभिन्न पाँच बुँदे माग राख्दै साउन १२ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा अनसनमा बसेका पीडितहरूले बिहीबार पनि अनसनलाई निरन्तरता दिएका हुन् ।
उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीन बुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न, विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी आचारसंहितामा आधारित वित्तीय प्रणाली लागू गर्न, गरिब, सुकुम्वासी, मजदुर र किसानलाई बिना व्याज ऋण उपलब्ध गराउन, आवश्यकता र क्षमताको आधारमा काम र दाम उपलब्ध गराउन र निजी तथा वित्तीय संस्थाहरूको अन्त्य गरी समाजवादी अर्थ व्यवस्था कायम गर्न माग गरेका छन् ।
माग पूरा नभएसम्म आन्दोलन र अनशनलाई निरन्तरता दिने लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले जनाएको छ । समितिको नेतृत्वमा पीडितहरू आन्दोलनमा उत्रेका हुन् ।






