सुनसरी घटनापछि तराई–मधेशका जिल्लामा सुरक्षा चुनौती बढिरहेका बेला धनुषाका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेना परिचालन गर्न पत्राचार गर्दै कानुनबमोजिम न्यूनतम सैनिक शक्ति प्रयोगको अधिकार प्रत्यायोजन गरेका छन्।
काठमाडौँ । सुनसरीको कप्तानगन्ज घटनापछि तराई-मधेशका विभिन्न जिल्लामा सुरक्षा अवस्था तनावपूर्ण बन्दै गएपछि धनुषामा कर्फ्यु कार्यान्वयनका लागि नेपाली सेना परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम नेपाली सेना परिचालनका लागि महेन्द्रनगरस्थित विष्णुदल गणलाई पत्राचार गरेको हो।
बिहीबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले पठाएको पत्रमा जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाली सेना परिचालन आवश्यक देखिएको उल्लेख गरिएको छ।
प्रशासनलाई प्राप्त पत्रअनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (१) (क) (२) बमोजिम सेना परिचालनको अनुरोध गरिएको छ। साथै, शान्ति–सुरक्षाको अवस्था नियन्त्रणमा राख्न आवश्यक परे नेपाली सेनाले न्यूनतम सैनिक शक्ति प्रयोग गर्न तथा आवश्यकताअनुसार गोली चलाउन सक्ने अधिकार पनि प्रत्यायोजन गरिएको उल्लेख छ।
पत्रमा भनिएको छ, “कारबाहीको दौरान शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा राख्नको लागि आवश्यकता अनुसार नेपाली सेनालाई न्यूनतम सैनिक शक्तिको प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार प्रत्यायोजन गर्दछु।”
सुनसरी घटनापछि बढ्यो सुरक्षा सतर्कता
साउन ९ गते सुनसरीको कप्तानगन्जमा दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि सुरक्षाकर्मीले चलाएको गोलीबाट एक युवकको मृत्यु भएको थियो। त्यसयता सिरहा, धनुषालगायत तराई-मधेशका विभिन्न जिल्लामा तनाव, झडप तथा कर्फ्युका घटना देखिएका छन्।
बिहीबार सिरहाको गोलबजारमा पनि गोली लागेर एक युवकको मृत्यु भएको छ। पछिल्ला घटनापछि सुरक्षा अवस्था नियन्त्रणमा लिन विभिन्न जिल्लामा कर्फ्यु, निषेधाज्ञा तथा नेपाली सेनासमेत परिचालन गरिएको छ।







