काठमाडौँ । मधेश प्रदेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटनापछि नेपाली काँग्रेसले सुरक्षा अवस्था र त्यसको स्थानीय जनजीवनमा परेको प्रभावबारे आन्तरिक छलफल गरेको छ।
पार्टीका सभापति गगन थापाको नेतृत्वमा सम्पन्न छलफलमा काठमाडौँमा रहेका पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य प्रत्यक्ष रूपमा सहभागी भएका थिए भने कोशी र मधेश प्रदेशका प्रदेश तहका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला कार्यसमिति र पालिका नेतृत्वले भर्चुअल माध्यमबाट सहभागिता जनाएको जनाइएको छ।
बैठकमा मधेश प्रदेशको पछिल्लो शान्ति-सुरक्षाको अवस्था, हिंसात्मक गतिविधिका कारण सिर्जित परिस्थितिले स्थानीय जनजीवनमा पारेको असर तथा शान्ति र सुरक्षा प्रभावकारी रूपमा कायम राख्न अपनाउनुपर्ने उपायका विषयमा विचार आदानप्रदान भएको बताइएको छ।
छलफलका क्रममा प्रदेश तथा स्थानीय तहका नेतृत्वबाट स्थलगत अवस्थाबारे जानकारी लिइएको र समसामयिक परिस्थितिको मुल्यांकनसँगै आवश्यक समन्वय र पहलका विषयमा समेत विमर्श भएको काँग्रेसले जनाएको छ।






