काठमाडौँ । काठमाडौँ उपत्यकामा पोलमा अव्यवस्थित रूपमा रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनको काम निर्धारित अवधिमा पूरा हुन नसकेपछि इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले थप १५ दिनको समय मागेको छ। सरकारले भने यो समयसीमा अन्तिम हुने स्पष्ट गर्दै अब परिणाम देखिनुपर्नेमा जोड दिएको छ।
शुक्रबार सूचना तथा सञ्चार मन्त्रालयमा बसेको सम्बन्धित निकायहरूको बैठकमा आइस्पानले निर्धारित समयभित्र काम सम्पन्न गर्न नसकेको जानकारी दिँदै थप समय आवश्यक परेको बताएको हो। बैठकमा सूचना तथा सञ्चार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, आइस्पान तथा अन्य सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए।
बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले तार व्यवस्थापनको प्रगतिसँगै कार्यान्वयनका क्रममा देखिएका चुनौती र समाधानका उपायबारे समीक्षा गर्दै समयमै काम सम्पन्न नभएकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग गर्न तयार रहेको जनाउँदै अब थप ढिलाइ स्वीकार्य नहुने स्पष्ट पारे।
मन्त्री तिमिल्सिनाले अव्यवस्थित तार व्यवस्थापन सेवा प्रदायकहरूको कानुनी र व्यावसायिक जिम्मेवारी भएको उल्लेख गर्दै सरकारले यो अभियानलाई निष्कर्षमा पुर्याउने निर्णय गरिसकेको बताए। विगतमा नै दायित्व पूरा भएको भए अहिलेको अवस्था सिर्जना नहुने भन्दै उनले कार्यान्वयनबाट पछि हट्ने विकल्प नरहेको धारणा राखे।
उनले काममा देखिएका व्यावहारिक समस्या समयमै मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्दै दीर्घकालीन समाधानका लागि साझा पूर्वाधारको अवधारणाबारे अध्ययन गर्न पनि निर्देशन दिए। एउटै पूर्वाधार विभिन्न सेवा प्रदायकले साझा रूपमा प्रयोग गर्न सक्ने सम्भावनाको नीतिगत र कानुनी पक्षसमेत अध्ययन गर्नुपर्ने उनको भनाइ थियो।
सञ्चार मन्त्रीले तोकिएको समयभित्र काम सम्पन्न हुन नसक्नु आइस्पानसँगै नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पनि कमजोरी भएको उल्लेख गरे। यसबाट मन्त्रालयले समेत जिम्मेवारी लिनुपर्ने अवस्था आएको भन्दै उनले सम्बन्धित सबै निकायलाई विगतका अनुभवबाट सिकेर प्रभावकारी रूपमा काम गर्न आग्रह गरे।
आइस्पानले भने काठमाडौँ उपत्यकामा पहिलो चरणका लागि तय गरिएका छ वटा रुटमध्ये हालसम्म करिब ५८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ। संघका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काका अनुसार उपत्यकासँगै देशका अन्य क्षेत्रमा पनि तार व्यवस्थापनको काम अघि बढिरहेको छ।
आइस्पानले दीर्घकालीन समाधानका लागि छुट्टै पूर्वाधार कम्पनी आवश्यक रहेको धारणा राख्दै नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत् लाइन भूमिगत गर्ने क्रममा इन्टरनेट तथा केवल सेवाका तार व्यवस्थापनका लागि पर्याप्त संरचना निर्माण नभएको विषय पनि उठाएको छ।
छलफलमा कलंकी-थानकोट र चाबहिल-बौद्ध क्षेत्रमा सेवा प्रदायक आफैले भूमिगत इन्टरनेट तार विस्तारको परीक्षणात्मक काम गरिरहेको जानकारी दिइयो। साथै आवश्यक जनशक्ति अभाव, सम्बन्धित निकायबाट पर्याप्त कर्मचारी परिचालन नहुनु, फिल्डमा कामका क्रममा सुरक्षा तथा ट्राफिक व्यवस्थापनसँग सम्बन्धित अवरोध र दक्ष प्राविधिकको कमीले काम प्रभावित भएको आइस्पानले जनाएको छ।
अब उपलब्ध जनशक्तिलाई धेरै क्षेत्रमा छरिनेभन्दा निश्चित क्षेत्रमा केन्द्रित गरी कामलाई तीव्रता दिने रणनीति अपनाइने आइस्पानको भनाइ छ। सञ्चार मन्त्रालयले भने मागिएको थप १५ दिनभित्रै काम सम्पन्न गर्नुपर्ने र यसपछि समयसीमा पुनः नथपिने स्पष्ट सन्देश दिएको छ।






