काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच द्विपक्षीय सम्बन्ध तथा सहकार्यका क्षेत्र विस्तारबारे छलफल भएको छ।
सञ्चार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपाल र इजरायलबीचको मित्रवत् सम्बन्धलाई थप सुदृढ बनाउने विषयसँगै सूचना प्रविधि, डिजिटल रूपान्तरण, दूरसञ्चार, कृषि, शिक्षा तथा मानव स्रोत विकासका क्षेत्रमा सहकार्यको सम्भावनाबारे विचार आदानप्रदान भएको हो।
भेटका क्रममा इजरायली राजदूत बासले नेपाल र इजरायलबीच लामो समयदेखि कायम रहेको सम्बन्ध पारस्परिक विश्वास र सहकार्यका आधारमा अघि बढिरहेको उल्लेख गर्दै सूचना प्रविधि, डिजिटल नवप्रवर्तन र कृषि आधुनिकीकरणलगायत क्षेत्रमा अनुभव तथा सहयोग आदानप्रदान गर्न आफ्नो मुलुक इच्छुक रहेको बताए।
मन्त्री तिमिल्सिनाले नेपालले सूचना तथा सञ्चार प्रविधिको उपयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन प्रवर्द्धन गर्ने दिशामा काम गरिरहेको जानकारी दिए। उनले डिजिटल पूर्वाधार, दूरसञ्चार प्रविधि तथा प्रविधि आधारित नवप्रवर्तनका क्षेत्रमा इजरायलका अभ्यासबाट नेपालले महत्वपूर्ण सिकाइ लिन सक्ने धारणा व्यक्त गरे।
उनले सूचना प्रविधि क्षेत्रका नेपाली युवा जनशक्तिका लागि तालिम, अध्ययन तथा व्यावसायिक अनुभव आदानप्रदानका अवसर विस्तार गर्न इजरायली पक्षसँग आग्रह गरे।
भेटवार्तामा दुवै पक्षले डिजिटल विकास, प्रविधि हस्तान्तरण तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेका थिए। नेपाल-इजरायल सम्बन्धलाई नयाँ क्षेत्रहरूमा विस्तार गर्दै लैजाने प्रतिबद्धता दुवै पक्षबाट व्यक्त भएको मन्त्रालयले जनाएको छ।






