काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ हजार रुपैयाँ घुस लिएको आरोपमा सव-डिभिजन वन कार्यालयका प्रमुखविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले सिरहाको सव-डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौँ प्राविधिक) राम केवल राय यादवविरुद्ध घुस लिएको आरोपमा आज विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए/नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख-हैरानी दिँदै घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट काष्ठ उद्योगका लागि ल्याइएका ट्रकहरूको शिल खोलेको मुचुल्का गरिदिएबापत विभिन्न बहाना बनाई सेवाग्राहीसँग बार्गेनिङ गर्दै १२ हजार रुपैयाँ घुस मागी लिएको आयोगको दाबी छ।
आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा ९१० बमोजिमको कसुर ठहर गर्दै बिगो १२ हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ बमोजिम कैद तथा बिगोबमोजिम जरिवानाको माग दाबीसहित सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको जनाएको छ।






