काठमाडौँ । प्युठानको नौबहिनी गाउँपालिका-२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट ठूलो संख्यामा अवैध भरुवा बन्दुक तथा त्यसका विभिन्न पार्टपुर्जा बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा सामुदायिक वन क्षेत्रमा पातले छोपेर लुकाइराखिएको अवस्थामा ती हतियार फेला पारेको हो।
प्रहरीका अनुसार बरामद भएका सामग्रीमा १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, चार थान बन्दुकका नाल, एक थान बटको कुण्डा र तीन थान भरुवा बन्दुकका चाप रहेका छन्।
बरामद गरिएका अवैध हतियार नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



