काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई नियन्त्रणमा लिएको छ।
अख्तियार प्रशासन स्रोतका अनुसार तामाङलाई सोमबार काठमाडौँ महानगरपालिका–१६, बालाजुबाट एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार सम्बन्धित कामको भुक्तानी प्रक्रिया सम्पन्न भइसकेपछि पनि सेवाग्राहीसँग कमिसनको रकम माग्दै अनावश्यक दबाब र हैरानी दिएको भन्ने सूचनाका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो।
उक्त सूचनापछि खटिएको अख्तियारको टोलीले तामाङलाई घुस रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।
आयोगले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।






