चालुतर्फ ५८.१४ प्रतिशत खर्च, बजेट रोक्काले समग्र वित्तीय प्रगतिमा प्रभाव
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०८२/८३ मा रोक्का नभएको पुँजीगत बजेटतर्फको वित्तीय प्रगति ६२.३७ प्रतिशत पुगेको छ।
मन्त्रालयले सार्वजनिक गरेको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा विवरणअनुसार चालुतर्फ ५८.१४ प्रतिशत बजेट खर्च भएको छ । समग्र पुँजीगत बजेटको खर्च भने १६.२१ प्रतिशत देखिएको छ । तर रोक्का भएको बजेट हटाएर उपलब्ध पुँजीगत बजेटका आधारमा गणना गर्दा खर्च ६२.३७ प्रतिशत पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयअन्तर्गत चालुतर्फ २ अर्ब ८२ करोड ५९ लाख रुपैयाँ र पुँजीगततर्फ ४ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ बजेट स्वीकृत भएको थियो । चालु र पुँजीगत गरी कुल बजेट ७ अर्ब ६७ करोड २१ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । यसबाहेक वित्तीय लगानीतर्फ ५ अर्ब ४९ करोड १९ लाख रुपैयाँ र सशर्त अनुदानतर्फ १३ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।
बजेट रोक्काको प्रभाव
मन्त्रालयको समग्र पुँजीगत खर्च १६.२१ प्रतिशत मात्र देखिए पनि उक्त प्रतिशतभित्र रोक्का भएको ठूलो बजेटसमेत समावेश गरिएको छ । खर्च गर्न उपलब्ध अर्थात् रोक्का नभएको पुँजीगत बजेटको कार्यान्वयन भने ६२.३७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
मन्त्रालयले बजेट कार्यान्वयनमा समय अभाव, बजेट रोक्का, मन्त्रालयको नेतृत्वमा देखिएको अन्योल तथा आयोजना बैंक, मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस), सरकारको नीति तथा कार्यक्रम र बजेटबीचको अन्तरसम्बन्धलाई प्रमुख सवालका रूपमा औँल्याएको छ। विवरणअनुसार विकाससम्बन्धी काम गर्न करिब छ महिना समय उपलब्ध हुन नसक्दा पनि बजेट कार्यान्वयन प्रभावित भएको थियो ।
यस आधारमा कुल विनियोजित बजेटको खर्च प्रतिशतलाई मात्र मन्त्रालयको कार्यान्वयन क्षमतासँग जोडेर हेर्दा वास्तविक अवस्था पूर्ण रूपमा नसमेटिने देखिन्छ । रोक्का भएको बजेट मन्त्रालय तथा मातहतका निकायले खर्च गर्न नपाउने भएकाले उपलब्ध बजेटको कार्यान्वयनलाई पनि वित्तीय प्रगतिको मूल्याङ्कनमा समेट्नुपर्ने मन्त्रालयको विवरणले देखाएको छ ।
विभिन्न निकायको उच्च वित्तीय प्रगति
मन्त्रालयअन्तर्गतका विभिन्न निकायले आर्थिक वर्ष २०८२/८३ मा उच्च वित्तीय प्रगति हासिल गरेका छन् । सांस्कृतिक संस्थानको खर्च प्रगति शतप्रतिशत र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको ९९.५४ प्रतिशत रहेको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानले ९७.०७ प्रतिशत, नारायणहिटी दरबार संग्रहालयले ९४.०१ प्रतिशत, राष्ट्रिय कला संग्रहालय भक्तपुरले ९१.३५ प्रतिशत, पर्यटन विभागले ९०.०८ प्रतिशत र लुम्बिनी विकास कोषले ९०.०६ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन्।
त्यस्तै स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरको समग्र खर्च ८७.७४ प्रतिशत, राष्ट्रिय संग्रहालय छाउनीको ८७.४५ प्रतिशत, जातीय संग्रहालयसमेतका संग्रहालयहरूको ८५.५२ प्रतिशत र ऐतिहासिक दरबारहरूको ८५.२६ प्रतिशत रहेको छ ।
भाषा आयोगले ८३.६३ प्रतिशत, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ८१.५२ प्रतिशत र राष्ट्रिय अभिलेखालयले ८१.४८ प्रतिशत बजेट खर्च गरेका छन् ।
क्षेत्रीय संग्रहालयहरूको समग्र वित्तीय प्रगति ७९.८३ प्रतिशत, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयको ७८.५७ प्रतिशत, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको ७७.६४ प्रतिशत र केन्द्रीय सांस्कृतिक सम्पदा संरक्षण प्रयोगशालाको ७६.९ प्रतिशत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
पूर्वाधार आयोजनामा भौतिक प्रगति
वित्तीय खर्चसँगै मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न पूर्वाधार आयोजनामा भौतिक प्रगति पनि भएको छ । नेपालगञ्ज विमानस्थलको सुविधाजनक टर्मिनल निर्माण सम्पन्न भएको छ भने विराटनगर विमानस्थलको टर्मिनल निर्माण ७५ प्रतिशत पूरा भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समानान्तर ट्याक्सी–वे निर्माण ७५ प्रतिशत र ह्याङ्गर एप्रोन निर्माण ५३ प्रतिशत सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एप्रोन निर्माणको ९२ प्रतिशत काम सम्पन्न भएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ९२.१० प्रतिशत रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक तथा वित्तीय प्रगति शतप्रतिशत रहेको विवरणमा उल्लेख छ। पशुपति क्षेत्र विकासतर्फ भौतिक प्रगति ९८.३३ प्रतिशत र वित्तीय प्रगति ८४.४८ प्रतिशत छ। लुम्बिनी विकास कोषतर्फ भौतिक प्रगति ९०.५० प्रतिशत र वित्तीय प्रगति ६९.०७ प्रतिशत रहेको छ ।
पर्यटन तथा सांस्कृतिक कार्यक्रमका उपलब्धि
मन्त्रालयले ग्रेट हिमालयन ट्रेलअन्तर्गत कञ्चनजङ्घा, अपि–सैपाल, मनास्लु, शे–गुम्बा र शे–फोक्सुण्डोलगायत क्षेत्रमा २० किलोमिटर पदमार्ग निर्माणको लक्ष्य पूरा गरेको छ । कल्चरल ट्रेलअन्तर्गत उपत्यका वरिपरि र महाभारत क्षेत्रलगायतमा १५ किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको छ । दुवै कार्यक्रमको लक्ष्यअनुसार काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
भूकम्पबाट क्षतिग्रस्त पुरातात्त्विक सम्पदा पुनर्निर्माणतर्फ वार्षिक लक्ष्यअनुसार ८२५ वटा सम्पदासम्बन्धी प्रगति हासिल भएको छ । ग्रेट हिमालयन ट्रेलको निर्माण ६६० किलोमिटर पुगेको छ ।
अभिलेख डिजिटाइजेसनतर्फ १७ लाख पृष्ठको काम भएको छ भने प्रतिलिपि अधिकार संरक्षण तथा दर्ताको संख्या तीन हजार ४२७ पुगेको छ । कल्चरल ट्रेलको लम्बाइ ३५४.३० किलोमिटर पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
पर्यटकको औसत बसाइ लक्ष्यभन्दा बढी
आर्थिक वर्ष २०८२/८३ मा पर्यटक आगमन १२ लाख पुगेको छ। पर्यटकको औसत बसाइ १६.३४ दिन पुगेको छ, जुन सोह्रौँ योजनाले आर्थिक वर्ष २०८५/८६ का लागि राखेको १५ दिनको लक्ष्यभन्दा बढी हो ।
कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत पुगेको छ भने भ्रमण तथा पर्यटन प्रतिस्पर्धी सूचकांक ३.४ पुगेको छ । प्रति पर्यटक प्रतिदिन औसत खर्च भने ३३.०९ अमेरिकी डलर रहेको छ ।
नेपाल आउने अन्तर्राष्ट्रिय विमानमा उपलब्ध सिट क्षमता ९१.९१ लाख पुगेको छ । कुल अन्तर्राष्ट्रिय उडान संख्या ३५ हजार ८२ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
चालु वर्षमा शतप्रतिशत पुँजीगत खर्चको लक्ष्य
मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ मा पुँजीगत बजेट शतप्रतिशत कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । पर्यटक आगमन १५ लाख पुर्याउने, पर्यटकको औसत बसाइ १७ दिन पुर्याउने र प्रति पर्यटक प्रतिदिन औसत खर्च ४१ अमेरिकी डलर पुर्याउने लक्ष्य निर्धारण गरिएको छ ।
यसैगरी बेरुजु फछ्र्यौट ६० प्रतिशत पुर्याउने, भूकम्पबाट क्षतिग्रस्त ८३० वटा सम्पदा पुनर्निर्माण गर्ने र ग्रेट हिमालयन ट्रेलको लम्बाइ ७१० किलोमिटर पुर्याउने लक्ष्य मन्त्रालयले राखेको छ ।
गत आर्थिक वर्षमा बजेट रोक्काका कारण समग्र पुँजीगत खर्चको प्रतिशत न्यून देखिए पनि खर्च गर्न उपलब्ध पुँजीगत बजेटको ६२.३७ प्रतिशत कार्यान्वयन भएको छ। चालुतर्फको ५८.१४ प्रतिशत खर्च तथा मातहतका विभिन्न निकायको वित्तीय र भौतिक प्रगतिले मन्त्रालयको कार्यसम्पादनलाई समग्र तथ्यांकका आधारमा मूल्याङ्कन गर्नुपर्ने देखाएको छ ।






