काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले बजारमा देखिएको एलपी ग्यासको समस्या आपूर्तिको परिमाणभन्दा वितरण प्रणालीमा परेको असामान्य चापका कारण उत्पन्न भएको बताएका छन्।
संघीय संसद्अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा ग्यास आपूर्ति व्यवस्थापनबारे जानकारी दिँदै सचिव दुवाडीले आधा सिलिण्डर वितरणको अभ्यासका क्रममा ठूलो संख्यामा सिलिण्डर नियमित रूपमा रिफिल नभएकाले अहिले पूर्ण १४ केजी ग्यास वितरण सुरु भएपछि एकै पटक बजारमा फर्किँदा माग उच्च देखिएको बताए।
उनका अनुसार मन्त्रालयले पछिल्ला तीन महिनाको तथ्यांक विश्लेषण गर्दा करिब ७० लाख सिलिण्डर रिफिल हुनुपर्नेमा ५४ लाख मात्रै रिफिल भएको देखिएको छ। यस अवधिमा करिब २३ लाख सिलिण्डर रिफिल प्रक्रियामा नआएको प्रारम्भिक अध्ययनले देखाएको उनले जानकारी दिए।
सचिव दुवाडीले आधा सिलिण्डरबाट पूर्ण सिलिण्डर वितरण प्रणालीमा प्रवेश गरेपछि पहिले रिफिल नभएका सिलिन्डरहरू एकै पटक बजारमा आउँदा ग्यासको माग अस्वाभाविक रूपमा बढेको बताए। उनका अनुसार विगतमा मासिक ४६ देखि ४७ हजार मेट्रिक टनको हाराहारीमा रहेको माग अहिले करिब ६० हजार मेट्रिक टनसम्म पुगेको छ।
बढ्दो माग व्यवस्थापनका लागि मन्त्रालयले इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग कम्तीमा एकदेखि डेढ महिनासम्म अतिरिक्त ग्यास उपलब्ध गराइदिन आग्रह गरेको पनि उनले जानकारी दिए। हाल करिब ५० हजार मेट्रिक टन ग्यास आपूर्तिको व्यवस्था गरिएको उल्लेख गर्दै उनले यो परिमाण अघिल्ला आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी भएको बताए।
उनका अनुसार साउन १९ गतेसम्म ३१ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको छ। यद्यपि वितरण प्रणाली पूर्ण रूपमा सामान्य हुन अझै केही समय लाग्ने उनले बताए।
सचिव दुवाडीका अनुसार हाल ४१ जिल्लामा ग्यास आपूर्तिको अवस्था तुलनात्मक रूपमा सहज रहे पनि २८ जिल्लामा केही समस्या देखिएको छ। त्यसमध्ये करिब आठ जिल्लामा विशेष व्यवस्थापन, आपूर्ति समन्वय तथा निगरानी आवश्यक रहेको उनले समितिलाई जानकारी दिए।






