काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले जनकपुर भ्रमणका क्रममा आफूलाई एउटा समूहले प्रवेश निषेध गर्न खोजेको घटनाप्रति आपत्ति जनाउँदै कानूनी राज्यमा सबै नागरिकलाई देशको जुनसुकै क्षेत्रमा निर्बाध रूपमा आवतजावत गर्न पाउने अधिकार भएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । साउन पाँच गते जनकपुरको जानकी मन्दिर प्रवेश गर्ने क्रममा श्रम संस्कृति पार्टीका कार्यकर्ता हिन्दु सम्राट् सेनाका कार्यकर्ताबाट लखेटिएका थिए ।
अध्यक्ष राईले उक्त घटनाको छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराइसकेको पनि बताए । उनले मेरो घरको छेउमा नआइजा, मेरो बाटो नहिँड भन्ने खालको व्यवहार भइरहेको उल्लेख गर्दै यो कानूनी राज्य हो कि जंगली राज्य भन्दै प्रश्न गरे। उनले संसद सहमतिको थलो भए पनि सरकारले संसद्लाई अपमानित गरिरहेको आरोप पनि लगाए । सीमासम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिनै पर्ने जिकिर पनि गरे। उनले सभामुख अर्यालले प्रधानमन्त्री रुलिङ नगरेको भन्दै तपाईँलाई पनि नेपालले भारतको भूमि मिच्छ भन्ने लागेको हो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘राज्य भनेको सहमतिजस्तो लाग्छ । हामी सबैले मिलेर यस्तो गरौँ भनेर सरसल्लाहजस्तो लाग्छ । सहमति जुटाउनको लागि हामी यहाँ बोल्छौँ होला । हामीले संसदमा बोलिरहेका कुराहरू सरकारले कति गम्भीर भएर सुनिरहेको छ ? सुनेपछि त्यसलाई कार्यान्वयनमा देखाउनुपर्छ । म यो पनि आग्रह गर्न चाहन्छु । म चाहिँ यो देश कानूनी राज्य हो जस्तो ठान्छु । त्यही भएर हामी यहाँ उपस्थित छौँ । एउटा सांसद, पूर्वको होस् वा पश्चिमको देशको जुनसुकै ठाउँमा निर्बाध रूपमा घुमफिर गर्न पाउने अधिकार हुनु जरुरी छ । जनकपुर जाँदा खेरी जसरी एउटा समूहले त्यहाँ निषेध गर्ने कोसिस गरे ? यो कस्तो राज्य हो मलाई त अचम्म लागिरहेको छ । कानूनी राज्य हो कि जंगली राज्य ? मेरो घरको छेउमा नआइजा, मेरो बाटो नहिँड भन्ने खालको व्यवहार भइरहेको छ । २०८३ सालको साउन पाँच गते हाम्रा श्रमदातामाथि अज्ञात समूहद्वारा कुटपिट पनि भएको छ । यस विषयमा मैले गृहमन्त्रीज्यूलाई भनेको पनि छु ।’
उनले मुलुकको सीमा सुरक्षाको विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।






