काठमाडौँ । सामाजिक सद्भाव कायम राख्ने उद्देश्यसहित गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छलफल गरेको छ। मन्त्रालयले मंगलबार सिंहदरबारस्थित सभा हलमा दुवै समुदायका प्रतिनिधिसँग छुट्टाछुट्टै संवाद गरेको हो।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको छलफलमा पहिलो चरणमा हिन्दु समुदायका अगुवासँग कुराकानी गरिएको हो। त्यसपछि मुस्लिम समुदायका प्रतिनिधिसँग छलफल गरिएको बताइएको छ।
छलफलका क्रममा दुवै समुदायका सरोकार, समस्या र चुनौतीबारे जानकारी लिइएको मन्त्रालयले जनाएको छ। तत्काल देखिएका विषयको पहिचान गरी समाधानका लागि राज्यका तर्फबाट गर्नुपर्ने कामहरूको सूची तयार गर्नसमेत सुझाव दिइएको छ।
गृह मन्त्रालयले दुवै समुदायले सामाजिक सद्भाव कायम राख्न खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि संयम र सहकार्य कायम राख्न आग्रह गरेको छ।
मंगलबारको छलफलबाट कुनै औपचारिक निर्णय भने नभएको मन्त्रालयले जनाएको छ। समस्या र समाधानका उपायलाई थप स्पष्ट बनाएर दुवै समुदायका प्रतिनिधिलाई एकै ठाउँमा राखी पुनः छलफल गर्ने तयारीसहित बैठक सम्पन्न भएको हो।






