वीरगञ्ज। पर्सा प्रहरीले २०७ किलोग्राम गाँजाजस्तो लागू औषधसहित एक पिकअप चालकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ६:३० बजे विन्दवासिनी गाउँपालिका-५ अन्तर्गत तिलावे-भिस्वा सडक खण्डमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको संयुक्त टोलीले सवारी जाँचका क्रममा उक्त परिमाणको गाँजाजस्तो पदार्थ बरामद गरेको हो।
जाँचका क्रममा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१३ निवासी ४८ वर्षीय कृष्ण लामाले चलाइरहेको प्रदेश ३-०१-०२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप रोकी खानतलासी गर्दा सिमेन्टको बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २०७ किलोग्राम गाँजाजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागू औषध तथा पिकअप गाडीलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक थप अनुसन्धान इलाका प्रहरी कार्यालय पोखरियाबाट भइरहेको छ।
प्रहरीका अनुसार बरामद भएको स्थान प्रहरी चौकी प्रसौनीभाट्टाबाट करिब एक किलोमिटर पश्चिम क्षेत्रमा पर्दछ।






