काठमाडौँ । सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका तीन कर्मचारीको सरुवा तथा नयाँ जिम्मेवारी तोकेको छ। बिहीबार सार्वजनिक मन्त्रिपरिषद्को निर्णयअनुसार काठमाडौँ महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ भने गृह मन्त्रालय र कर्णाली प्रदेशमा समेत सहसचिव खटाइएको छ।
निर्णयअनुसार पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
यस्तै, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहका सहसचिव महेशचन्द्र न्यौपानेलाई गृह मन्त्रालय वा अन्तर्गत खटाइएको छ। उनी यसअघि पूर्वाधार विकास मन्त्रालय वा अन्तर्गत कार्यरत थिए।
त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नेपाल प्रशासन सेवाका सहसचिव रमेश कुमार के.सी.लाई कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत प्रदेश सचिवको जिम्मेवारीमा पठाइएको छ।
यसअघि प्रशासन डटकमले काठमाडौँ महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतसहित केही सहसचिवको सरुवा हुने तयारीबारे समाचार प्रकाशित गरेको थियो।







