काठमाडौँ। सार्वजनिक स्रोतको उचित व्यवस्थापन र सवारी साधनको सम्भावित दुरुपयोग रोक्न सिम्ता गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गरिरहेका मोटरसाइकल फिर्ता गर्न निर्देशन दिएको छ।
गाउँ कार्यपालिकाको २०८३ असार २८ गतेको निर्णयअनुसार गाउँपालिकाको स्वामित्वमा रहेका दुईपांग्रे सवारी साधन सम्बन्धित शाखामा बुझाउन ताकेता गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार कार्यालय प्रयोजनबाहेक अन्य काममा सरकारी सवारी साधन प्रयोग हुन नदिन यस्तो निर्णय गरिएको हो। उनका अनुसार अब कार्यालयको कामका लागि आवश्यक पर्ने अवस्थामा मात्र प्रक्रिया पूरा गरी सवारी उपलब्ध गराइनेछ।
गाउँपालिकाले कार्यालय प्रयोजनका लागि सवारी आवश्यक परे सम्बन्धित शाखाबाट लगबुक भरेर मात्र प्रयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ। सवारी साधनको मर्मतसम्भार तथा इन्धन व्यवस्थापनको जिम्मेवारी पनि सम्बन्धित शाखामार्फत नै हुने व्यवस्था मिलाइएको छ।
गाउँपालिकाले हाल जनप्रतिनिधि र कर्मचारीले प्रयोग गरिरहेका २८ वटा मोटरसाइकल आगामी २०८३ असोज मसान्तभित्र सम्बन्धित शाखामा फिर्ता बुझाउन निर्देशन दिएको छ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले सार्वजनिक सम्पत्तिको संरक्षण, स्रोतसाधनको प्रभावकारी उपयोग र कार्यालय कार्यसम्पादनलाई व्यवस्थित बनाउन निर्णय कार्यान्वयनमा ल्याइएको बताए।






