काठमाडौँ। काठमाडौँ महानगरपालिका-१६ बाइपास क्षेत्रबाट प्रहरीले लागुऔषधसहित ठूलो परिमाणमा नगद तथा अन्य सामग्री बरामद गरेको छ।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौँ–१६ निवासी ५३ वर्षीया शान्ति नगरकोटीको कोठामा खानतलासी गर्दा डाइजेपाम, बुप्रेनोर्फिन र प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सनसहित २ लाख २६ हजार ८५० रुपैयाँ नगद बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सामग्रीमा डाइजेपाम १७ एम्पुल, बुप्रेनोर्फिन १७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १७ एम्पुल रहेका छन्। त्यसैगरी, घटनास्थलबाट तीन थान मोबाइलसमेत बरामद गरिएको छ।
बरामद सामग्री र नगदसहित नगरकोटीलाई नियन्त्रणमा लिई लागु औषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनलाई काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।






