काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले सरकारी निकायमा सुशासन कायम गर्न तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफ्नो अनुगमन गतिविधि तीव्र बनाएको जनाएको छ।
केन्द्रका अनुसार सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता देशभरका ८५३ सरकारी कार्यालयको अनुगमन गरिएको छ। अनुगमनका क्रममा आचारसंहिता पालना नगरेको ठहर भएका ८ हजार ८३० कर्मचारीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित अख्तियारवालालाई निर्देशन दिइएको केन्द्रले जनाएको छ।
केन्द्रले सरकारी कार्यालयको नियमित अनुगमनसँगै राष्ट्रिय गौरव तथा अन्य योजनाको प्राविधिक परीक्षण, सेवा प्रवाहमा हुने ढिलासुस्ती न्यूनीकरणका लागि ‘फाइल ट्र्याकिङ’ प्रणाली तथा सेवाग्राही सन्तुष्टि सर्वेक्षणसमेत सञ्चालन गरिरहेको जनाएको छ।
यी गतिविधिमार्फत सार्वजनिक सेवाको गुणस्तर सुधार, जबाफदेहिता अभिवृद्धि र प्रशासनिक पारदर्शिता सुदृढ बनाउने उद्देश्य राखिएको केन्द्रको भनाइ छ।
राष्ट्रिय सतर्कता केन्द्रलाई थप अधिकार सम्पन्न बनाउने उद्देश्यले ‘सतर्कता ऐन’ तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ।
आगामी दिनमा प्रविधिमैत्री निगरानी प्रणालीलाई विस्तार गर्दै प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म सतर्कता अधिकृतको व्यवस्था गर्ने तयारीसमेत गरिएको केन्द्रले उल्लेख गरेको छ। यसबाट नियमन तथा अनुगमन प्रणालीलाई देशभर थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
सरकारी निकायमा भ्रष्टाचार, कर्मचारीबाट आचारसंहिता उल्लंघन भएको वा शंकास्पद सम्पत्तिसम्बन्धी सूचना भए राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन नम्बर ०१-४२००३४५ मा सम्पर्क गरी जानकारी गराउन केन्द्रले सर्वसाधारणसँग आग्रह गरेको छ।






