काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले पहिचानको मुद्दालाई सम्मान गर्दै द्वन्द्वरहित समाज निर्माणमा जोड दिएका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सचेतक राईले पहिचानको नाममा समाजलाई द्वन्द्वतर्फ धकेल्न खोजिएको भन्दै त्यसप्रति सतर्क रहनुपर्ने बताएका हुन्। सचेतक राईले मुलुकमा लोकतन्त्र प्राप्तिका लागि प्रथम शहीद लखन थापादेखि इलामको सात खाल्डेका शहीदहरूसम्मले पुर्याएको योगदानको स्मरण गरे ।
आफू इलामको एउटा सामान्य किसान परिवारमा जन्मिएको र विभिन्न समुदायको संस्कार एवं संस्कृतिमा हुर्किएको चर्चा गर्दै उनले बहुजातीय र बहुसांस्कृतिक एकता नै नेपालको सुन्दरता भएको उल्लेख गरे। आफू जन्मले नभई विचार र चिन्तनले काँग्रेस भएको स्पष्ट पारे ।
पहिचानको मुद्दामा आफ्नो धारणा राख्दै उनले आदिवासी जनजातिहरू आफ्नो पहिचानका लागि पार्टी र राज्यका हरेक निकायमा लड्ने प्रतिवद्धता व्यक्त गरे । यद्यपि, पहिचानको लडाइँ लड्दा अरूको पहिचानलाई पनि उत्तिकै सम्मान गर्नुपर्ने उनको तर्क छ । पछिल्लो समय पहिचानको नाममा मानिसहरूलाई भावनात्मक रूपमा उत्तेजित बनाएर द्वन्द्व सिर्जना गर्न खोजिएकोमा उनले चिन्ता व्यक्त गरे ।
कतिपय शक्तिले इतिहास र पहिचानलाई देखाएर पार्टी प्रवेश गराउने होडबाजी चलाएको उल्लेख गर्दै उनले त्यसले अन्ततः द्वन्द्व निम्त्याउने चेतावनी दिए। पहिचान पनि भेटिने र द्वन्द्व पनि मेटिने गरी काँग्रेसका नेताहरूले अघि सारेको मार्गलाई आत्मसात् गर्न उनले सबैलाई आह्वान गरे ।
सचेतक राईले भने, ‘काँग्रेसले यो देशको स्वतन्त्रता र नागरिक अधिकार सुनिश्चित गर्न पुर्याएको ऐतिहासिक योगदानलाई हेरेर म यस पार्टीमा आवद्ध भएको हुँ । मेरो सोच र चिन्तनले मलाई काँग्रेस बनाएको हो । आफ्नो पहिचानको सम्मान खोज्नेले अरूको पहिचानलाई पनि आदर गर्न सिक्नुपर्छ, यो नै प्रजातन्त्र र काँग्रेसको शैली हो । काँग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आधारभूत सिद्धान्तहरू यथावत् रहे पनि कार्यशैलीमा भने व्यापक रूपान्तरण भएको छ ।’
काँग्रेसको आन्तरिक रूपान्तरणबारे चर्चा गर्दै सचेतक राईले पार्टीको कार्यशैलीमा परिवर्तन आएको दाबी गरे ।
बजारमा व्याप्त महँगी र ग्यास लगायतका अत्यावश्यक वस्तुको अभावले जनता आक्रान्त बनेका बेला सरकार संवेदनशील नभएको उनको आरोप छ । सरकार जनसरोकारका विषयलाई छाडेर मधुमास मनाउन व्यस्त रहेको टिप्पणी गर्दै उनले सदन र सामाजिक सञ्जालमार्फत सरकारलाई निरन्तर खबरदारी गर्न कार्यकर्ताहरूलाई आग्रह गरे ।






