काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिल अन्तर्गत २ र ३ नम्बर नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोप जङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जग्गा हालसाविक गरी जग्गाधनी पुर्जा बनाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको उजुरीका आधारमा अख्तियारको टोलीले खत्रीलाई नियन्त्रणमा लिएको थियो। उनलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।
अनुसन्धानका क्रममा अमिन खत्रीले आफ्नो पदको दुरुपयोग गर्दै जग्गा हालसाविक तथा जग्गाधनी पुर्जा बनाउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको भनाइ छ।
आयोगका अनुसार खत्रीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर ठहर भएकाले बिगो रकम १ लाख ६० हजार रुपैयाँ कायम गरी विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो।
अख्तियारले खत्रीलाई ऐनको सम्बन्धित व्यवस्थाअनुसार कैद सजाय तथा बिगोबमोजिम जरिवाना हुन माग दाबी गरेको छ।






