काठमाडौँ । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरी कर्मचारी विभागीय कारवाहीमा परेका छन्।
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि डीआईजी दर्जासम्मका प्रहरी कर्मचारी छन्।
तथ्यांकअनुसार कारबाहीमा परेकामध्ये सबैभन्दा धेरै ८६६ जना प्रहरी जवान छन्। त्यसपछि ३५६ प्रहरी सहायक हवल्दार र २६२ प्रहरी हवल्दार कारबाहीमा परेका छन्।
त्यस्तै, १३९ प्रहरी सहायक निरीक्षक (असई), ६१ वरिष्ठ हवल्दार, ५३ कार्यालय सहयोगी, ५२ प्रहरी नायब निरीक्षक (सई) र १७ वरिष्ठ सईमाथि कारबाही भएको छ।
अधिकृततर्फ ३३ प्रहरी निरीक्षक (इन्स्पेक्टर), तीन प्रहरी नायब उपरीक्षक (डीएसपी), तीन प्रहरी उपरीक्षक (एसपी), दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) कारबाहीमा परेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार संगठनको आचरण र अनुशासन विपरीत गतिविधि, व्यावसायिक जिम्मेवारी निर्वाहमा देखिएका कमजोरी तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघनलगायतका आधारमा उनीहरूमाथि कारबाही गरिएको हो।
यसरी आर्थिक वर्ष २०८२-८३ मा विभागीय कारबाहीमा परेका प्रहरी कर्मचारीको कुल संख्या एक हजार ८४८ पुगेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ।






