काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय विभिन्न चार वटा समुदाय पार्टीबाट टाढिँदै गएको र त्यसको ठाउँ ‘पपुलिज्म’ (लोकप्रियतावाद) ले लिन खोजेको विश्लेषण गरेका छन् ।
शनिवार तारकेश्वरमा आयोजित ‘मिसन पार्टी जागरण, २०८३’ तथा संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको पछिल्लो अवस्थाबारे यस्तो धारणा राखेका हुन् । महासचिव पोखरेलले विशेष गरी २०७९ सालको निर्वाचन यता सहरी मध्यम वर्ग, भूमिहीन सुकुम्वासी तथा सहरी गरिब, नयाँ पुस्ताका युवा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरू एमालेबाट टाढिँदै गएको बताए ।
नयाँ पुस्तामा पार्टीप्रतिको आकर्षण घट्दै गएको प्रति चिन्ता व्यक्त गरे । साथै, विदेशमा रहेका नेपालीहरू पनि पार्टीप्रति नकारात्मक बन्दै गएको उनको ठम्याइ छ । पार्टीले यी कमजोरीहरू पहिचान गरी सुधारका लागि ‘मिसन ग्रासरुट’ लगायतका अभियान सञ्चालन गरे पनि तल्लो तहमा त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको उनले स्वीकार गरे ।
उनले भने, ‘अब नेपालको राजनीतिमा वैकल्पिक शक्तिका नाममा पपुलिज्म अगाडि आउन खोजिरहेको छ । हामीले आम निर्वाचनका बेला चार वटा समुदाय हामीबाट टाढिएको विश्लेषण गरेका थियौँ । पहिलो, राजधानीमा ठूलो हिस्सा रहेको सहरी मध्यम वर्ग हामीबाट टाढिन खोज्यो । दोस्रो, भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासमा रहेका र सहरी गरिबहरू हामीबाट टाढिए। तेस्रो, नवयुवाको सहभागिता हाम्रो आन्दोलनमा क्रमशः घट्दै गयो । अहिले त युवाहरू फाट्टफुट्ट मात्र देखिन्छन्, त्यो पनि उत्साहित ढंगले होइन । चौथो, विदेशमा रहेका नेपालीहरू हामीप्रति नकारात्मक बन्दै गए । यो २०७९ सालकै विश्लेषण हो । यी समुदायसँगको सम्बन्ध सुधार गर्न हामीले योजना बनायौँ, अभियान चलायौँ र परिपत्र जारी गरेर कमजोरी भएका क्षेत्रमा सुधार गर्न निर्देशन पनि दियौँ ।सबैभन्दा धेरै जोड युवाहरूमाथि थियो। ‘मिसन ग्रासरुट’ अन्तर्गत हरेक वडामा १० जना युवा पहिचान गरी नेतृत्व विकासको तालिम दिन र पार्टी काममा जोड्न निर्देशन दिइयो । तर त्यो काम आम रूपमा हुन सकेन। त्यसपछि वडामा कठिनाइ भयो भनेर गाउँपालिकामा १००, नगरपालिकामा १५०, उपमहानगरपालिकामा २०० र महानगरपालिकामा २५० जना युवा भेला गरी नेतृत्व विकासको तालिम दिने भनियो। त्यो काम पनि अपेक्षित रूपमा हुन सकेन ।’
उनकाअनुसार हरेक वडामा १० जना युवा पहिचान गरी नेतृत्व विकासको तालिम दिने र स्थानीय तह अनुसार २५० जनासम्म युवा भेला गर्ने पार्टीको निर्देशन आम रूपमा पालना हुन सकेन ।






