काठमाडौँ । प्युठानको एक सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा लुकाएर राखिएका १३ थान भरुवा बन्दुक र दुई थान बन्दुकका नाल प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय लुङबहाने, प्युठानबाट खटिएको प्रहरी गस्ती टोलीले गस्तीका क्रममा नौबहिनी गाउँपालिका-२ डाँडाकटेरीस्थित मनकामना सामुदायिक वन र सुनसरी खोल्सा क्षेत्रमा ती हतियार फेला पारेको हो।
प्रहरीका अनुसार झारपातले छोपेर राखिएको अवस्थामा भरुवा बन्दुकहरू भेटिएका थिए। उक्त स्थानबाट १३ थान साबुत भरुवा बन्दुक र सोही प्रकृतिका बन्दुकका दुई थान नाल नियन्त्रणमा लिइएको छ।
बरामद हतियार कसले र कुन प्रयोजनका लागि उक्त क्षेत्रमा लुकाएर राखेको हो भन्ने विषय तत्काल खुलेको छैन। घटनामा संलग्न व्यक्तिको पहिचान तथा हतियारको स्रोतलगायत विषयमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।






