काठमाडौँ । बंगलादेशको ठाकुरगाँवमा सञ्चालित नि:शुल्क आँखा शिविरमा करिब तीन हजार स्थानीयवासी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालले यही साउन १७ गतेदेखि सो स्थानमा पाँच दिने शिविर आयोजना गरेको थियो । शिविरमा दुई हजार ८९४ नि:शुल्क आँखा परीक्षण तथा १५६ जनाको मोतियाविन्दुको शल्यक्रिया सम्पन्न भएको सङ्घद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।
विराटनगर आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा. प्रज्ञा लुइँटेल, डा. गङ्गासागर साह, दीपेन्द्र चौधरी, विद्यानन्द चौधरी, मो रफिकलगायतका १३ सदस्यीय टोलीले शिविरमा सेवा पुर्याएको थियो । सन् २०२३ देखि सञ्चालन हुँदै आएको सो कार्यक्रममार्फत बङ्गलादेशका विभिन्न जिल्लाका हजारौँ आर्थिक रूपमा विपन्न नागरिकले नि:शुल्क नेत्र उपचार सेवा प्राप्त गरिसकेका छन् ।
नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा. डा. चेतराज पन्तले नेपालमा उपलब्ध अन्तर्राष्ट्रियकरण आँखा उपचार सेवाबाट बङ्गाली नागरिकलाई लाभान्वित गराउन नि:शुल्क आँखा शिविर आयोजना गरिएको जानकारी दिए । उनले भने, “शिविरले ‘स्वास्थ्य पर्यटन’ प्रवर्द्धनका साथै नेपाल–बङ्गलादेशबीचको स्वास्थ्य सहकार्यलाई थप सुदृढ बनाउन सहयोग गरेको छ ।”
कार्यक्रममा बंगलादेशस्थित नेपाली दूतावासका उपप्रमुख प्रतीक कार्कीले यस्ता मानवीय कार्यक्रमले दुई देशबीचको जनस्तरको सम्बन्ध र स्वास्थ्य कूटनीतिलाई थप बलियो बनाएको उल्लेख गरे । शिविरको शुभारम्भ बंगलादेशका स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी मामिलाका सल्लाहकार (मन्त्रिस्तरीय) मिर्जा फखरुल इस्लाम आलमगीरले गरे ।
संघका अनुसार शिविरमा नि:शुल्क आँखा परीक्षण, रोग पहिचान, औषधि वितरण तथा मोतियाविन्दुको शल्यक्रिया सेवा प्रदान गरिएको थियो । विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुले स्वास्थ्य सेवामार्फत दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ भने । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरीले समाधान गर्न सकिने अन्धोपन न्यूनीकरणका लागि नेपाल र बङ्गलादेशका संस्थाबीचको सहकार्य प्रभावकारी बन्दै गएको धारणा व्यक्त गरे ।
बङ्गलादेशको भिभा केयर लिमिटेड र ठाकुरगाँव डायबिटिज समितिले शिविर सञ्चालन गर्न सहयोग गरेका जनाइएको छ । नेपाल नेत्रज्योति सङ्घले विगत चार दशकदेखि २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्रमार्फत नेपालभर गुणस्तरीय तथा सुलभ आँखा स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ ।
नि:शुल्क स्वास्थ्य शिविर: विदेशमा बढ्दो माग
संघले नेपालका साथै भारत, बंगलादेश, भुटान, म्यानमार, कम्बोडिया, इथियोपियालगायत विभिन्न देशमा पनि प्राविधिक सहयोग, क्षमता अभिवृद्धि, चिकित्सक तथा स्वास्थ्यकर्मी तालिम, नि:शुल्क आँखा शिविर र विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
संघका अनुसार पछिल्ला वर्षहरूमा बङ्गलादेशबाट गुणस्तरीय तथा सस्तो नेत्र उपचारका लागि नेपालका आँखा अस्पतालमा आउने बिरामीको सङ्ख्या निरन्तर बढिरहेको छ । ठाकुरगाँवमा सञ्चालित सो शिविरले नेपाली नेत्र सेवाप्रतिको विश्वासलाई थप सुदृढ बनाउनुका साथै बङ्गलादेशबाट नेपालमा उपचारका लागि आउने बिरामीको संख्या वृद्धि भई आँखा स्वास्थ्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुगेको जनाइएको छ ।






