काठमाडौँ । जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ रकम उठाएको आरोपमा ग्याट्सबी इन्टरनेसनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रतीक बुढाथोकी पक्राउ परेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका-७ चांगाथलीका २९ वर्षीय बुढाथोकीलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा साउन २५ गते बुटवलबाट पक्राउ गरिएको हो ।
बुढाथोकीले सञ्चालन गर्दै आएको ग्याट्सबी इन्टरनेसनल प्रालिमार्फत जापान पठाउने आश्वासन दिई ११५ जनाबाट कुल २ करोड ८० लाख रुपैयाँ संकलन गरेको आरोप छ ।
वैदेशिक रोजगारीका नाममा रकम लिएर ठगी गरेको आरोपमा पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
अनुसन्धानका क्रममा पीडितबाट रकम लिएको प्रक्रिया, रकमको प्रयोग तथा घटनासँग सम्बन्धित अन्य विषयबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ ।






