काठमाडौँ । सिरियाको अदालतले पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध तथा मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।
डिसेम्बर २०२४ मा शासनबाट हटाइएपछि असद परिवारसहित सिरियाबाट बाहिरिएर मस्को पुगेका थिए। उनको सत्ताच्युतिसँगै सिरियामा असद परिवारको पाँच दशकभन्दा लामो राजनीतिक प्रभुत्व समाप्त भएको थियो।
अदालतले असदसँग सम्बन्धित दक्षिणी सिरियाको दारा प्रान्तका तत्कालीन राजनीतिक सुरक्षा प्रमुख तथा उनका नातेदार आतेफ नजीबलाई पनि मृत्युदण्ड सुनाएको छ। फैसला सुनाउने क्रममा नजीबलाई अदालतभित्र पिँजडामा राखिएको थियो।
सिरियामा सन् २०११ मा सरकारविरोधी आन्दोलन सुरु भएको प्रमुख स्थान दारा थियो। सरकारी सुरक्षा निकायले केही किशोरलाई सरकारविरोधी भित्ते लेखेको आरोपमा पक्राउ गरी यातना दिएपछि त्यहाँ विरोध प्रदर्शन चर्किएको थियो।
प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षा बलले गरेको हिंसात्मक दमनपछि असन्तुष्टि देशका अन्य क्षेत्रमा समेत फैलिएको थियो। क्रमशः ती विरोध प्रदर्शन सशस्त्र द्वन्द्वमा परिणत भएर लामो गृहयुद्धको रूप लिएको थियो। उक्त द्वन्द्वमा लाखौँ मानिसले ज्यान गुमाएका थिए।
असद शासनसँग सम्बन्धित उच्च पदस्थ अधिकारीमाथि कारबाही अघि बढाउने प्रक्रिया सिरियाको अन्तरिम सरकारले यसै वर्षदेखि सुरु गरेको हो। नजीब ती कारबाहीको दायरामा परेका उच्च तहका पूर्वअधिकारीमध्ये एक हुन्।
अदालतले नजीबलाई पाँच वर्षभन्दा कम उमेरका बालबालिकासहित व्यक्तिको नियोजित हत्या तथा ज्यान जाने गरी यातना दिएको लगायतका अपराधमा दोषी ठहर गरेको छ।
असद शासनकालमा भएका दमन र मानवअधिकार उल्लंघनका घटनामा संलग्न अधिकारीमाथि न्यायिक प्रक्रिया अघि बढाउने अन्तरिम सरकारको प्रयासअन्तर्गत पछिल्लो फैसला आएको हो।






