चितवन । भरतपुर महानगरपालिका-२८ जितपुरमा बाघको आक्रमणबाट एक ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मंगले बोटे रहेका छन्।
बोटे बिहान करिब ५ बजे मर्निङवाकका लागि घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएपछि परिवार तथा स्थानीयले खोजी सुरु गरेका थिए। बिहान करिब ८ बजे उक्त क्षेत्रमा बाघ देखिएको सूचना प्राप्त भएपछि खोजी कार्यलाई थप तीव्र बनाइएको थियो।
सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि नेपाली सेना, राष्ट्रिय निकुञ्ज प्रशासनका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिको समन्वयमा हात्ती प्रयोग गरी बोटेको खोजी गरिएको थियो।
खोजीका क्रममा अपराह्न ४ बजेर २० मिनेटमा जितपुरबाट करिब चारदेखि पाँच किलोमिटर पूर्वतर्फ रहेको राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको आक्रमणमा परेको अवस्थामा बोटेको शव फेला परेको हो।
फेला परेको शव बोटेकै भएको उनका छोराले सनाखत गरेका छन्। घटनापछि सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाएको जनाएको छ।






