काठमाडौँ । नेपाली काँग्रेसको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गर्दै पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका छन् ।
कोइराला बुधबार खड्काको गल्फुटारस्थित निवास पुगेका थिए । भेटका क्रममा उनले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना हुने राष्ट्रिय भेलामा सहभागी हुन खड्कालाई आग्रह गरेको कोइरालाको सचिवालयले जनाएको छ । उक्त आग्रहप्रति खड्काले सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ ।
भेटमा नेपाली काँग्रेसका नेता एनपी साउदसमेत सहभागी थिए । पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको भेलाको संयोजकको जिम्मेवारी शशांक कोइरालालाई दिइएपछि खड्का भने त्यससम्बन्धी गतिविधिमा सक्रिय देखिएका छैनन् ।
यसअघि पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट निस्सा जारी भएपछि खड्काले पार्टीभित्र एकताको सम्भावनाका लागि बाटो खुलेको धारणा सार्वजनिक गरेका थिए ।
देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था तथा आन्तरिक विवादका विषयमा छलफल हुने बताइएको छ ।






