काठमाडौँ । थाइल्यान्डबाट हङकङ हुँदै नेपाल आएका दुई भारतीय नागरिकलाई १८ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमारलाई पक्राउ गरेको हो। उनीहरू क्याथे प्यासिफिकको उडानबाट बैंकक-हङकङ हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
प्रहरीका अनुसार विमानस्थलको भन्सार क्षेत्रमा लगेज छाडेर तत्काल बाहिरिने र केही दिनपछि नेपाली एजेन्टमार्फत ती सामान बुझ्ने योजना उनीहरूले बनाएका थिए। लागु औषधसहितको लगेज तत्काल नलैजाँदा आफूहरू पक्राउ पर्नबाट जोगिने उनीहरूको उद्देश्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।






